कपिलवस्तु : विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ ।

 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हुँदै फर्किने गरेका छन् ।

 

कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृतविहीन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायकपर्ने स्थानमा सरुवा भएर गए ।

 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँच पटक काठमाडौँ धाउँदासमेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताए ।

शाहले पटकपटक सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उनले बताए ।

शाहले भने मैले तत्कालीन मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदयश त्रिपाठीलाई पटकपटक कार्यकारी पठाउन माग गरे तर हालसम्म कोही आएनन् ।

 

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हालसम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुःखद् भएको उपप्रमुख सबनम खातुनले बताए ,। कृष्णनगरको विकासको बाधक अहिले मन्त्रालय रहेको उनको आरोप छ ।

नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत वञ्चित भएका छन् ।

 

शिक्षक आन्दोलित

कृष्णनगर केही महिनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन् ।

 

आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकाभित्रका शिक्षकहरुले नगरपालिका तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्रसमेत बुझाएका छन् । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन् ।

 

चार÷चार महिनासम्म आफ्ना बालबच्चालाई उधारो खुवाउँंदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक सङ्घका नगर अध्यक्ष प्रल्हादप्रसाद पाण्डेयले बताए ।

 

तलबलगायत विद्यालय पूर्वाधार, खाजा, छात्रवृत्तिलगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सडकमा उत्रन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक सूचना गरे पनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी, उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताए ।

 

मन्त्रालयलाई आफ्नो राजनीतिका लागि दाउपेच चलाउन खोज्ने केही स्थानीय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पाँच महिनादेखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाइ छ ।

 

सत्तापक्षबाट प्रदेश कै पहिलो मुस्लिम महिला उपप्रमुख रहेको कृष्णनगर नगरपालिकामा सो दलको नेतृत्वमा रहेको मन्त्रालयले बाइपास गरेर गइरहेको उपप्रमुखका सल्लाहकार तुफेल खाँको आरोप छ ।

प्रशासकीय अधिकृत नआउँदा नगरपालिकामा स्वास्थ संस्थामा औषधिको कमी हुनुका साथै नगरपालिकाको सम्पूर्ण योजनाहरु ठप्प भएका छन् । योजनाहरु सञ्चालनमा नआउँदा बजेट फ्रिज हुने जोखिम पनि बढ्दै गएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version