काठमाडौँ:  महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा ५०३ वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

 

महाशिवरात्रिका दिन विशेष पूजा गर्न चाहने भक्तजन धेरै भए पनि रात्रिकालीन समयमा मात्र अधिकांशलाई अवसर दिन सकिएको कोषले जनाएको छ । त्यस दिन बिहान २७ र दिउँसो १३ विशेष पूजा भएको थियो । बाँकी विशेष पूजा बेलुकी ८ बजे दर्शनार्थी भक्तजनको लाइन सकिएपछि गरिएको थियो । अधिकांश भक्तजनले रु २७ हजार र रु ५१ हजार बराबरको पञ्चामृत स्नान सहितको विशेष पूजाका लागि रसिद काटेका थिए ।

 

विसं २०६६ चैत २६ गतेदेखि पशुपतिमा हुने विशेष पूजा र भक्तजनले चढाउने भेटीघाटी दानपेटिकामा राख्न लगाई मासिकरूपमा कोषमा दाखिला गर्ने व्यवस्था गरिएको छ । वार्षिक विशेष पूजाबाट रु सात करोड र भेटीघाटीबापत रु छ करोड गरी रु १३ करोड उठ्ने गरेको प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो ।

 

वार्षिकरूपमा यही कोषबाट भट्ट, भण्डारीलगायत कर्मचारी तलबलगायत चालू खर्च हुन्छ । चालू खर्च कटाएर हालसम्म रु २३ करोड बचत रहेको कोषले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version