वीरेन्द्रनगर : एकसाता अगाडि आजकै दिन ट्रिपरको ठक्करबाट युवाको ज्यान गएपछि सुर्खेतको वीरेन्द्रनगर बजारमा आज पनि आफन्तले विरोध प्रदर्शन जारी राखेको छ ।
मृतकका आफन्तले आज बिहानैदेखि प्रदर्शन जारी राख्दा स्थानीय बजार खुल्न सकेका छैनन भने सवारी आवागमन पनि प्रभावित भएको त्यहाँस्थित हाम्रा समाचारदाताले बताएका छन ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गत बुधबार साँझ नै मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएपछि बजार प्रभावित भएको हो ।
आन्दोलन चर्काएको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ ।
ट्रिपर धनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।
मृतक केशरबहादुर सिंहको शव पोस्टमार्टम हुन सकेको छैन । यद्यपी पुनः प्रदर्शनमा उत्रिएको समूहसँग पनि समन्वयको प्रकिया अघि बढेको उनले जानकारी दिए ।
कालीकोटका २१ वर्षीय सिंहको जुम्लारोडमा गत मंगलबार बिहान ट्रिपरको ठक्करबाट मृत्यु भएपछि तनाव चुलिएको हो ।
