चितवन: समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

समाजवादी पार्टीको चितवन जिल्ला समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा देशको संविधान तथा मुलुकी संहिताले देशको भौगोलिक अखण्डता, राष्ट्रिय झण्डा, निशान छाप आदिको अपमान हुने गरी काम गर्न नपाउने व्यवस्था रहेको उनले स्मरण गराए ।

उनले भने, ‘संघीयताले देशलाई काँक्रो चिरे जस्तो चिर्ने बताउने प्रधानमन्त्री केपी ओलीजीले आफ्नो जन्मदिनमा नेपालको नक्सालाई बर्थडे केक बनाएर खानुभयो । यो देशको अपमान हो । यो नेपालको संस्कृति पनि होइन । उहाँलाई अब नैतिकताको दृष्टिले सत्तामा बस्ने अधिकार छैन ।’

काँग्रेस र कम्युनिष्टले अगाडि सारेको समाजवादले देशको बहुराष्ट्रियतालाई सम्मान गर्न नसकेको उनको भनाइ थियो । सहअध्यक्ष श्रेष्ठले भने, ‘उनीहरुले समाजवादका नाममा व्यक्तिवादलाई नै प्रोत्साहित गरे । समाजवाद समाज र जनताका लागि होइन राज्य र नेताहरूलाई पुजनीय बनाए ।’

यस्तै उनले नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाएको बताए ।

श्रेष्ठले भने, ‘विरालोले दुध खाँदैन भन्दै दुधको साक्षी विरालो बनाउनु र नेकपाले भ्रष्टाचार गर्दैन भन्नु उस्तै हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा गोकुल बास्कोटाको टेप प्रकरणबाट नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाएको स्पष्ट भएको छ ।’

समाजवादी पार्टीको नयाँ समायोजित चितवन जिल्ला समितिमा अध्यक्ष प्रेम भुजेल, उपाध्यक्ष त्रय यदुकृष्ण भट्ट, सरस्वती बर्देवा र तुलाराम गुरुङ, सचिव विनोद शर्मा पौडेल, उपसचिव नारायण बर्तौला र कोषाध्यक्ष मनोज पोखरेल चयन भएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस परित्याग गरी दर्जनौ व्यक्ति समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version