बैतडी: नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा आज सम्पन्न भएको छ । दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणमा सहमति भएको हो । यसका साथै कोरोना भाइरस, पहिरो र पेन्सन गरेर सात बुँदामा सहमति भएको हो ।

सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, कोरोना भाइरस फैलन नदिन सीमा रहेका हेल्थ डेस्कमा जाँच गर्ने, उपकरणमा सहयोग गर्ने, सीमा क्षेत्रमा हुने सडक निर्माणका बेला हुने सम्भावित ख्याल गर्ने गरी निर्माण गर्ने र भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन बुझ्न भएको समस्या समाधानका लागि पहल गरिने, नेपाल भारत सिमानाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुरोध गर्ने सहमति भएको हो ।

यसका साथै समन्वय समितिको बैठक हरेक तीन÷तीन महिनामा बस्ने पनि निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो । बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्ट्रिक म्याजिस्टेट (डीएम) डा विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता थियो ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न बैठकमा पिथौरागढ, बैतडी, दार्चुलामा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको छ । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बसेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version