काठमाडौं : विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले छलफल गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का राष्ट्र/सरकार प्रमुखबीच आइतबार साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको छ।
उक्त भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनेछन्।
भिडिओ कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावलगायतका विषयमा कुरा गर्नेछन्।
सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोनासविरुद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रस्ताव राखेका थिए। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्न हामी भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौं,’ मोदीले ट्विटमार्फत भनेका थिए, ‘संयुक्त रूपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पुर्याउन सक्छौं।’
कन्फरेन्सबारे अन्य सदस्य मुलुकहरूले तत्काल सहमत भए पनि पाकिस्तानले सबैभन्दा अन्तिममा सहमति जनाएको थियो। पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार दिउँसो भारतको प्रस्तावलाई समर्थन गर्ने सन्देश नेपाललाई दिएकी थिइन्।
