काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएमा राजधानीका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
आज आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले गरीरहेको तयारीबारे जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन ।
‘भोली यो संक्रमण फैलिएको अवस्थामा सबै अस्पतालमा संक्रमित बिरामीलाई पठाउने भन्दा पनि मूलभुत रुपमा उपत्यका भित्रका ३ वटा अस्पतालमा केन्द्रित हुने र त्यसमा यो रोगका बिरामीको उपचार गर्ने कुरालाई प्राथमिकता दिने व्यवस्था गरेका छौं,’ मन्त्री ढकालले भने, ‘सरकारले पहिलो प्राथमिकता यो रोगलाई नेपाल भित्रिन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइ राखेका छौं ।’
मन्त्री ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा संक्रमित बिरामीको सम्पूर्ण उपचारको व्यवस्था राज्यले गर्ने बताए ।
स्वास्थ्य मन्त्री ढकालले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारका लागि देशभरका विभिन्न अस्पतालहरुमा गरी २ सय ३५ वटा आईसीयू व्यवस्थापनको तयारीमा समेत रहेको बताए ।
काठमाडौं उपत्यका भित्र १ सय २० र काठमाडौं उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आईसीयूको व्यवस्थापनमा आफूहरु जुटेको मन्त्री ढकालको भनाइ छ ।
मन्त्री ढकालले हालसम्म ४ सय ६४ जनामा कोरोना भाइरसको परीक्षण गरीएको र ती सबै व्यक्तिको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताए ।
नेपालमा हालसम्म १ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिलाई पनि निको भइसकेको मन्त्री ढकालको दाबी छ ।
नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिन सरकारले बनाएको समितिले हरेक २ दिनमा एकपटक बैठक बस्ने गरेको जानकारी दिए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस देखिएका राष्ट्रहरुमा ९२ प्रतिशत बिरामी सामान्य अवस्थामा रहेको र ८ प्रतिशत मात्र गम्भिर अवस्थामा रहेको बताए ।
कोरोना भाइरसको संक्रमितको मृत्यु हुनेमा ८० वर्षभन्दा माथिका व्यक्तिहरुमा १४ दशमलब ८ प्रतिशत रहेको मन्त्री ढकालले बताए ।
यस्तै, ७० देखि ७९ वर्षका व्यक्तिमा प्रतिशतमा ८ प्रतिशत, ६० देखि ६९ वर्षका व्यक्तिमा ३ दशमलब ६ प्रतिशत, ५० देखि ६९ वर्षका व्यक्तिमा प्रतिशतमा १ दशमलब ३ प्रतिशत, ४० देखि ४९ वर्षका व्यक्तिमा ० दशमलब ४ प्रतिशत, १० देखि ३९ वर्ष सम्मका व्यक्तिमा ० दशमलब २ प्रतिशतको मृत्यु भएको उनको भनाइ छ । जन्मदेखि ९ वर्ष उमेर समुहका बिरामीको मृत्युदशर निकै कम रहेको मन्त्री ढकालले बताए ।
नेपाल सरकारले अन्य मुलुकामा देखिएको संक्रमणको अवस्था अनुसार तयारी गरिरहेको मन्त्री ढकालको भनाइ छ ।
