काठमाडौं : प्रदेश २ को नाम र राजधानीबारे सांसदहरुबीच छलफल भइरहेको छ ।

नाम र राजधानीका विषयमा यतिबेला प्रदेशसभामा सांसदहरुले आफ्नो मत जाहेर गरिरहेका छन्।

प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले नामका बारेमा मत राख्दै मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदहरुलाई स्मरण गर्न आग्रह गरेका छन्।

मधेस प्रदेश नाम राख्दा सहिदको सम्मान र प्रदेशको पहिचान झल्कने उनीहरुको मत छ।

प्रदेशसभामा बोल्ने धेरैजसो सांसदहरुले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर हुनुपर्ने बताएका छन्।

प्रदेशको राजधानी जनकपुरमा सबैको एकमत रहे पनि नाममा भने मधेसवादी दल, नेकपा र कांग्रेसले फरक फरक प्रस्ताव दर्ता गरेका छन्।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’ र काँग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छ।

यी तीनै नाममा अहिले प्रदेशसभामा छलफल भइरहेको छ।

सर्वसहमति नभए प्रदेशसभामा रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सक्ने संवैधानिक व्यवस्था छ।

प्रदेश २ को प्रदेशसभामा १ सय ७ सांसद छन्। सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, सत्ता साझेदार राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र एक स्वतन्त्र सांसद छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version