काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिनुभएको छ ।

 

 

प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।”

 

 

आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिनुभएको छ । प्रधानसेनापतिले भन्नुभएको छ, “आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् । ”

 

 

सङ्कटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उहाँले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिनुभएको छ । प्रधानसेनापतिले भन्नुभएकोछ, “सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस् ।”

 

 

सहकर्मीप्रति सदैव सहयोगी भावना राख्न, सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उहाँले बिसञ्चो भएमा घर ब्यारेकमा नै बस्न, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्न सल्लाह दिनुभएको छ ।

 

 

प्रधानसेनापति थापाले आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव दिनुभएको छ । प्रधानसेनापतिले भन्नुभएको छ, “सङ्कटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोखाउनुहोस् ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version