जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएको भोलिपल्टै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिएको हो ।

सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ ।

त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको अवधीभर अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित संचालन गर्ने/गराउने समेतको कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।

माथिल्लो निकायको कार्यक्षेत्र/बिषयको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस पठाउन भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय सिंहदरबारसहितका निकायलाई बोद्यार्थ गरिएको पत्रमा आवश्यक सहयोग निर्देशन तथा समन्वयका लागि सादर अनुरोध गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version