काठमाडौँ: कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८÷२९ गते) काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाडौँबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ ।

समितिका संयोजक ईश्वर पोखरलले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ । “यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सार्वजनिक सञ्चारमाध्यम खास गरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा किसिमको कुनै निर्णय नभएको र सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीररूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version