काठमाडौँ:नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ। आईक्यान परिषदको गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
परिषद् बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरु कटौती गर्ने समेत निर्णय गरेको छ। कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। ‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई केही राहत पुर्याउने हाम्रो विश्वास छ,’ आचार्यले भने।
अध्ययन समिति बनाउने
आईक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ।
कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकाले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले बताए। लेखा व्यवसाय र लेखा तथा लेखा परीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ।
