काठमाडौँ: बुधबार साँझ महाराजगंजमा डाक्टरलाई कुटपिट भएपछि महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख डिएसपी उमेश लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी (मेट्रो) झिकाइएको छ।

बुधबार साँझ ड्युटी सकेर घर फर्केने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भू खनाल, तेजप्रकाश साह र विकास साहलाई लकडाउन उल्लंघन गरेको भन्दै डिएसपी लम्सालसहितको प्रहरी टोलीले कुटपिट गरेको थियो। सोही विषयमा थप अनुसन्धान गर्न भन्दै डिएसपी लम्साललाई मेट्रो तानिएको हो।

‘उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख प्र.ना.उ. उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई यस कार्यालय झिकाइएको साथै उक्त घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई आवश्यक छानबिन कार्य भइरहेको व्यहोरा समेत जानकारी गराइन्छ’, महानगरीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाल लाइभले उक्त समाचार प्रकाशन गरेपछि मेट्रोले उक्त घटनाको छानबिन गर्न भन्दै एसएसपी किरण बज्राचार्य, एसपी मुकेश सिंह र डिएसपी होबिन्द्र बोगटीको नेतृत्वमा समिति समेत बनेको छ।

उक्त समितिले थप अनुसन्धान गरेपछि विभागीय कारबाहीसम्म हुने मेट्रोका डिआइजी विश्वराज पोखरेलले  जानकारी दिए।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version