काठमाडौँ: काठमाडौँका चारवटा मस्जिदको आज अनुगान गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगका मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल लगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद, सुनधारा र स्वयम्भूस्थित भुँइखेलका मस्जिदको अनुगमन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममार्फत ती मस्जिदमा भीडभाड गरिएको भन्ने जानकारी आएपछि सङ्ख्यात्मक रुपमा मानिस बढी भए कोरोना भाइरस सङ्क्रमण हुने जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरिएको जनाइएको छ ।

केही दिनअघि मात्र उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ मध्ये १२ लाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि कामपाको सक्रियतामा आज मुस्लिम समुदायको बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

कामपाका प्रमुख शाक्यका अनुसार आज गरिएको अनुगमनका क्रममा भीडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुईवटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाइ गर्ने, खाना बनाउने लगायतका काम गर्ने आठ–आठजना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भूमा त अझ त्योभन्दा कम सङ्ख्यामा रहेको पाइयो ।

अनुगमनकै क्रममा उहाँले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि बताउनुभयो । अन्य समयमा भीडभाड हुने ती मस्जिद अहिले सुनसान छन् । दैनिक काम गर्ने र धर्मगुरुबाहेक कोही पनि छैनन् । बाहिरबाट आउने कसैलाई पनि त्यहाँ प्रवेश दिइएको छैन ।

अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष अन्सारीले काठमाडौँ उपत्यकाभित्र भएका मस्जिदका गतिविधिको अनुगमन गर्न आयोगले समिति बनाएर निरन्तर निगरानी गरेको बताउनुभयो ।

पूर्वराज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौँस्थित घण्टाघरको दायाँबायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद उपत्यकाकै ठूला मस्जिद हुन् । यसबाहेक स्वयम्भूमा अर्को मस्जिद छ । यस्तै सुन्धारा, ठमेल, इन्द्रचोक, कालीमाटी, नयाँबजार, चोभार, बूढानीलकण्ठमा साना—साना मस्जिद छन् । उहाँका अनुसार भक्तपुरमा दुई र ललितपुरको गोदावरीमा पनि मस्जिद छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version