काठमाडौँ: विनाशकारी भूकम्प गएको शुक्रबार पाँच वर्ष पूरा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि पनि यही वर्ष सकिँदै छ । तर, भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण भने पूरा हुने छाँटकाँट छैन ।

 

बरु कोरोना भाइरस महामारीका कारण पुनर्निर्माण थप ढिलाइ हुने भएको छ । कोरोना भाइरस फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण पुनर्निर्माणका सबै काम एक महिनादेखि ठप्प छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाश धौलाकोटीले लेखेका छन् ।

 

साढे चार वर्षको अवधिमा प्राधिकरणले निजी आवासतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा ६८ प्रतिशत र सरकारी भवनतर्फ ८४ प्रतिशत प्रगति हासिल गरेको छ । थुप्रै चुनौतीबीच पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दाबी गर्छन् । ‘पहिले नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोत अभाव र तीन तहको चिर्वाचनलगायतले अल्झाए,’ उनी भन्छन्, ‘अब कोरोना भाइरस महामारीले पुनर्निर्माण ठप्प पारेको छ ।’ लकडाउन भएपछि छिटपुटबाहेक पुनर्निर्माण रोकिएको उनले बताए ।

 

पुनर्निर्माणका लागि अहिलेसम्म तीन खर्ब ८१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । त्यसमध्ये सरकार र दातृ निकायको तीन खर्ब नौ अर्ब रुपैयाँ तथा गैरसरकारी संस्थाले ७२ अर्ब रुपैयाँ खर्च गरेका सहप्रवक्ता मनोहरि घिमिरले जानकारी दिए । कोरोनाका कारण प्राधिकरणको समयावधिसमेत लम्बिन सक्ने देखिएको छ । सहप्रवक्ता घिमिरे भन्छन्, ‘१० पुससम्म नियमित कार्यकाल छँदै छ, त्यसपछिको अवस्थाबारे निर्देशक समितिले छलफल थालिसकेको छ ।’

 

निर्देशक समितिले छलफल गरी प्रधानमन्त्रीलाई प्रतिवेदनसमेत बुझाइसके पनि कोरोनाका कारण कार्यसूची थप प्रभावित भएको र कार्यावधि झन् पर धकेलिन सक्ने उनले बताए । सरकारले १० पुस ०७२ मा पाँच वर्षका लागि प्राधिकरण स्थापना गरेको थियो । ऐनले सरकारले थप एक वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था गरेको छ । १२ र २९ वैशाख ०७२ मा गएको भूकम्पले आठ हजार नौ सय ७९ जनाको ज्यान गएको थियो भने २२ हजार तीन सय नौजना घाइते भएका थिए । भूकम्पले सात सय ६ अर्ब रुपैयाँबराबरको भौतिक क्षति पुर्‍याएको थियो ।

 

भूकम्पले क्षति पुर्‍याएकामध्ये चार लाख ९४ हजार ४४ वटा घर पुनर्निर्माण भइसकेका छन् । थप एक लाख ९० हजार एक सय ४५ घर निर्माणका क्रममा रहेको प्राधिकरणले जनाएको छ । पाँच लाख ६१ हजार ६ सय ५० लाभग्राहीका फाइल अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण भइसकेका छन् । त्यसक्रममा करिब पाँच लाख गुनासो सम्बोधन गरिएको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । उनले भने, ‘त्यसमा पनि चित्त नबुझाउनेहरूबाट पुनरावेदन समितिले आवेदन लिएर समस्या समाधान भइरहेको छ ।’

 

क्षतिग्रस्त नौ सय २० वटा सम्पदामध्ये दुई सय दुई सम्पदाको मात्रै पुनर्निर्माण भएको छ । अझै तीन सय ७७ वटा सम्पदाको पुनर्निर्माण नै सुरु भएको छैन भने एक सय ४१ वटा सम्पदा निर्माण भइरहेका छन् । उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त एक सय ७० सम्पदामध्ये एक सय एकवटा सम्पदा पुनर्निर्माण सकिएको छ भने ५४ वटा सम्पदा निर्माणको क्रममा रहेको सहप्रवक्ता घिमिरेले बताए ।

 

भूकम्पले क्षति पुर्‍याएका एक हजार एक सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको निर्माण सकिएको छ भने एक सय ४५ वटा निर्माणका क्रममा छन् । भत्किएका चार सय १५ मध्ये तीन सय ४९ वटा सरकारी भवन ठडिएका छन् भने ४९ वटा सम्पन्न हुने चरणमा छन् । सुरक्षा निकायका एक सय ९४ संरचना खडा भएका छन् भने २२ वटाको पुनर्निर्माण भइरहेको छ ।

 

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये चार हजार दुई सय चार लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा दिइएको छ । आठ हजार सात सय ४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको घिमिरेले जानकारी दिए ।

 

यस्तै, ४३ वटा एकीकृत बस्ती निर्माण हुने भएका छन् भने नौवटाको पुनर्निर्माण सकिएको छ । अन्य २७ वटाको डिपिआर स्वीकृत भएको छ । प्राधिकरणले चार सय ४३ किमि सडक बनाएको छ । यस्तै, एक हजारवटा खानेपानी योजना निर्माण भई सञ्चालनमा आएका छन् ।

 

एक लाख ३४ हजारले ५० हजार लगे, तर घर बनाउनै थालेका छैनन्

 

लाभग्राही सूचीमा परेसँगै अनुदान सम्झौदा गरेका पाँच लाख ५० हजार पाँच सय ९० लाभग्राहीले घर बनाएर तेस्रो किस्ताको रकमसमेत बुझिसके । तर, चार हजार दुई सय १९ ले भने पहिलो किस्ता नै बुझेका छैनन् । अनुदान सम्झौतापछि लाभग्राहीले आवश्यक कागजात पूरा गरी पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाउँछन् । त्यही रकमबाट घर बनाउन सुरु गर्छन् । घर बनाउन थालेपछि प्राधिकरणले दोस्रो किस्ताको रकम दिन्छ । प्राधिकरणका अनुसार अहिलेसम्म पहिलो किस्ताको रकम बुझेर घर निर्माण सुरु गर्न नसकी दोस्रो किस्ता नपाउनेको संख्या पनि ठूलो छ । एक लाख ३४ हजार नौ सय ३१ ले अझै पनि घर बनाउन नै थालेका छैनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version