काठमाडौँ: विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शनिवार २ लाख पुगेको छ।
यसैगरी रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ।
कोरोनाबाट ज्यान गुमाएका मध्ये आधा अमेरिका, इटाली र स्पेनबाट रहेका छन्।
कोरोनाका कारण पहिलो मृत्यु जनवरी १० मा चीनको वुहानमा भएको थियो। त्यसपछि ९१ दिनमा त्यो संख्या १ लाख पुगेको थियो भने त्यसको १६ दिनमै २ लाख पुगेको रोयटर्सले जनाएको छ।
विश्वमा घातकमध्येको एक मानिने मलेरियाबाट पनि वार्षिक ४ लाख मानिसहरूको मृत्यु हुने तथ्यांक छ।
कोरोनाका कारण शनिवारसम्म अमेरिकामा ५२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने इटाली, स्पेन र फ्रान्स गरी प्रत्येक राष्ट्रमा त्यो संख्या २० हजारदेखि २६ हजार छ।
कोरोनाबाट सर्वाधिक प्रभावित २० देशमध्ये बेल्जियममा प्रति १० हजार सबैभन्दा धेरै मृत्यु छ। त्यहाँ प्रति १० हजार ६ जनाको कोरोनाबाट ज्यान गएको छ। उसको दाँजो स्पेनमा त्यो ४.९ छ भने अमेरिकामा १.६ रहेको छ।
अमेरिकामा प्रमाणित संक्रमणमध्ये ८ प्रतिशत संक्रमण ज्यान लिने किसिमको छ भने स्पेन र इटालीमा १० प्रतिशतको मृत्यु भएको तथ्यांक छ। एजेन्सी
