काठमाडौं: महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ ।
जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न आइतबार दिउसो टेकु पुगेका थिए।
यता परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न भने अस्वीकार गरेका छन् । उनी नहुँदा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने बताएका थिए । उनले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएका छन् ।
जोहरी दर्ता नभएपछि प्रहरी परिसरबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो मुद्दामा जाहेरी नदिँदा पनि राज्य आफैँले अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, ‘प्रहरीलाई केही दोषारोपण गर्न चाहँदैनौँ, उहाँहरूको केही बाध्यता होला । तर, ओलीतन्त्रले राज्यको कानुन विधान सबै लत्याएको छ र राज्यको अपराधीकरण गरेको छ । साथै, आफैँ अपहरणमा समेत मुछिएको छ ।’
यो घटना अझै गम्भीर बनेको र देश गम्भीर संकटतर्फ उन्मुख भएको उनले बताए ।
पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।
भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । पछि यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।
खनाल, श्रेष्ठ र बस्नेतले भने विभिन्न संचार माध्यममार्फत सहमतिमै काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।
