कैलाली: कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् ।
भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किए । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।
चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । “ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ”, दलबहादुर बुढाले भने , “आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन ।” उनले भने , “सरकारले हाम्रो आवाज सुनिदियो, धेरैधेरै धन्यवाद ।” “आफ्नो भनेको आफ्नै हुन्छ”, बुढा भन्छन्, “भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएका छौँ यही रमाउँछौं ।”
“भारतमा रहेका मजदुरहरु स्वदेश आएसँगै आफ्नो गाउँसम्म पुर्याउनुपर्छ”, शुक्लाफाँटा नगरपालिका–१० का मनोज पार्की भन्छन्, “सरकारले उद्धार ग¥यो, अब घरपरिवार भेट्न चाहन्छौं ।” गत मङ्सिरमा भारतमा मजदुरी गर्न गएका मनोज अब भारतभन्दा आफ्नै भूमिमा काम गर्ने बताउँछन् ।
अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमि प्यारो छ । भारतमा गएर गालीगलौज खानु शिवाय केही छैन । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन । उनीहरुकले निरन्तर आफ्नो समस्या सञ्चारमाध्यममा दिएकै कारण सरकारले भारतबाट उद्धार गर्ने निर्णय गरेको हो ।
बिहीबार दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए । नेपाल भित्र्याइएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ ।
