काठमाडौं: करिब चार महिनापछि चीन उत्पादन भएका वस्तु आयातका लागि बाटो खुलेको छ। केही दिन अघि फलफूल र तरकारीमात्रै भित्रिएको तातोपानी नाकाबाट व्यवसायिक सामान आयात गर्न पाउने भएका छन्।

तातोपानी भन्सार, स्थानीय र गाउँपालिकाबीच भएको छलफलमा चीनबाट अरु व्यवसायिक सामान पनि आयात गर्न पाउने सहमति भएको छ। यो निर्णयपछि चीनबाट तयारी पोशाक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्सका सामान, सौन्दर्य प्रसाधनका सामानहरु आयात गर्न पाउने छन्। तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले तातोपानीबाट आयात सहज बनाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार नाका सहज बनाएर चीनबाट आवश्यक सबै सामान ल्याउन दिने सहमति भएको छ।

सहमति अनुसार गाउँपालिका र स्थानीय हेल्थपोष्टले सामान लिन जाने चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको छ। सवारी साधनको डिस्इन्फेक्ट गरेर चलाउने निर्णय भएको उनले बताए। नाका सहज बनाउने निर्णयसँगै स्थानीय तहदेखि व्यापारीसम्म उत्साहित भएको खत्रीले बताए।

छलफलमा हिमालय सीमापार वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसमेत सहभागी थिए। सहमतिअघि चीनबाट सामान ल्याउने बारेमा अन्योल थियो।

भन्सार प्रमुख खत्रीले पहिलाको जस्तो भीड हुन नदिन कन्टेनर एकैपटक आउन नदिने गरि सामान अर्डर गर्न व्यवसायीलाई आग्रह गरे। उनका अनुसार अहिले दैनिक १० कन्टेनर भन्दा बढी सामान ल्याउन सकिदैन।

‘अहिले हामीले सामाजिक दुरी कायम गरेर सामान ल्याउनुपर्छ। स्वास्थ्यका अरु उपाय समेत अबलम्बन गर्नुपर्छ,’ उनले भने, ‘त्यही भएर हामी सचेत भएर चीनबाट सामान ल्याउने वातावरण तयार गरिरहेका छौं।’ खत्रीका अनुसार चीनबाट आएको सामान तातोपानी भन्सारमा ल्याइसकेपछि आधा घण्टा डिस्इन्फेक्ट गरेर भित्र्याउने गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version