काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् ।

‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने,

‘विवाद सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’

उनले सीमामा नियमन र व्यवस्थापन गर्न कसरी सकिन्छ भन्ने कुरामा जानै पर्ने अवस्था आएको बताए ।

सीमा स्तम्भ भत्काइदिने, सार्ने, नेपाली भूमि मिच्ने काममा सीमा सुरक्षा बल नै संलग्न भएका घटनाले सार्वभौम छिमेकी राष्ट्रप्रति भारतको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको नेता नेपालले बताए ।

आफ्नो देशको भूमिको रक्षा गर्ने सवालमा सबै नेपाली र राजनीतिक दलहरु एकजुट भएको बताउँदै नेपालले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग सरकारले कुरा गर्नुपर्ने बताए । ‘पूर्णतयारीका साथ, सबै खालका तथ्य तथ्यांकका साथ र उच्च मनोबलका साथ हामीले भारत सरकारसँग कुरा गर्नुपर्छ । यससँग जोडिएका विषयवस्तु भएको हुनाले चीन सरकारसँग पनि कुरा गर्नुपर्छ ।’

नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने र त्यसको उदघाटन गर्ने भारतको काम त्यो अत्यन्त दुःखद र आपत्तिजनक भएको बताए । ‘यसले नेपालको र भारतको बीचमा भएको सहमति र सम्झौताको पनि गम्भीर उल्लंघन गरेको छ । सँगसँगै सार्वभौमसत्ता माथि प्रहार भएको हामीले ठानेका छौं,’ नेता नेपालले भने ।

उनले थपे, ‘यो विवादलाई बसेर छलफल गर्न सकिन्छ । तथ्यको आधारमा गर्न सकिन्छ । यो डिस्प्युट कसरी समाधान गर्ने भन्ने उपायको खोजी गर्न सकिन्छ । तर डिस्प्युट छ भने त्यो ठाउँमा किन विवादित गतिविधि गर्ने ? यस कुरामा उहाँहरुले (भारतीय पक्षले) हामीलाई कन्भिन्स गर्नुपर्ने आवश्यकता छ ।’

‘नेपालको नक्सा प्रकाशित गर्नैपर्छ’

नेपालको पश्चिमको सिमाना लिम्पियाधुरासम्म हो भन्ने कुरा सबै दस्ताबेजहरुले प्रमाणित गर्ने नेता नेपालले बताए ।

‘लिम्पियाधुराबाट निस्किएको नदी काली नदी नै नेपाल–भारतको सिमाना भएकोले त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । ती भूभागका नेपालले आफ्नो दाबी छोडेको कुनै अग्रिमेन्ट भएको छैन,’ उनले भने, ‘हामी यति प्रष्ट भइसकेपछि पनि किन अनावश्यक रुपमा मित्र राष्ट्रसँग अविश्वास बढाउँदै जाने ? अहिले पनि भारतसँग अहिले पनि कुरा गर्न सकिन्छ । किनभने नेपाली जनमत उद्वेलित छ । आक्रोशित पनि छ । देशभक्तिको भावना बढिरहेको छ । भारतविरोधी भावना बढिरहेको छ ।’

उनले सरकारले नेपालको नक्सा प्रकाशित गर्नै पर्नेमा जोड दिए । शिक्षा मन्त्रालयबाट पाठ्यपुस्तकमा नेपालको नक्सा प्रकाशित गर्ने कुराको सन्दर्भमा अनावश्यक आपत्ती जनाउने काम भएको भन्दै नेता नेपालले विरोध जनाए ।

‘मैले के सुन्दछु भने शिक्षा मन्त्रालयबाट पुस्तकमा नेपालको नक्सा बनाउने कुराको सन्दर्भमा पनि अनावश्यक आपत्ति गर्ने कामहरु भयो । आपत्ति गर्ने काम नगर्नुस् । तथ्य प्रमाणले यी सबै कुरा देखाएको छ भने हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्ने पाठ््यक्रममा, स्कुलहरुको पाठ्यक्रममा, कलेजका पाठ्यक्रममा त्यस्ता नक्साहरु प्रकाशित हुनुपर्यो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version