काठमाडौँ: काठमाडौंमा जनप्रतिनिधिलगायत ७ हजार बढी व्यक्तिको कोरोनाभाइरसको पिसिआर परीक्षण गरिने भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले एक हप्ताभित्र राहत वितरणमा सहभागी जनप्रतिनिधि, सरसफाइ कर्मचारी र स्वास्थ्यकर्मी सबैको पिसिआर परीक्षण गर्न लागिएको जानकारी दिए।

यस्तै, नगर सुरक्षाकर्मी र जोखिमयुक्त ठाउँबाट आएकाहरूको पनि परीक्षण गरिने छ।

‘लुकिछिपी रूपमा भारतलगायत उच्च जोखिमयुक्त ठाउँबाट उपत्यका आएका सबैको परीक्षण गर्छौं,’ महानिर्देशक श्रेष्ठले भने।

उनले एकहप्ताभित्र कम्तीमा ७ हजारको पिसिआर परीक्षण गरिने भन्दै परीक्षण दायरालाई अझ ठूलो बनाउँदै लैजाने तयारी रहेको जनाए।

अहिलेसम्म काठमाडौंमा २ हजार जनाको पिसिआर र ५ हजार जनाको र्‍यापिड टेस्ट गरिएको छ।

सरकारले काठमाडौंमा लकडाउन केही खुकुलो बनाए पनि उपत्यका अहिले पनि सरकारले आन्तरिक वर्गीकरण गरेको ‘रेड जोन’ मै छ।

श्रेष्ठ भन्छन्, ‘जोखिम हटिसकेको छैन। लकडाउन केही खुकुलो भएपछि बाहिरबाट पनि केही मानिसहरू लुकिछिपी उपत्यका आएको पाइयो। त्यसैले स्थिति थाहा पाउन हामीले ठूलो संख्यामा परीक्षण गर्दैछौं।’

उपत्यकामा अहिलेसम्म पाँच जना व्यक्तिमा कोरोना संक्रमण देखिएकोमा चार जना निको भएर घरमा छन्।

एक जनालाई भने पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version