काठमाडौँ: महाकाली करिडोर (दार्चुला–टिंकर सडक योजना) दार्चुलामा ८७ किलाेमिटर सडकखण्ड निर्माण र सुरक्षाका लागि नेपाली सेनाको फौज व्यास गाउँपालिका– २ स्थित घाँटीबगर पुगेको छ ।

 

सडकखण्डअन्तर्गत घाँटीबगरमा करिब दुई मिटर चौडाइको चार सय ५० मिटर बाटो निर्माणका लागि सुरक्षा र बन्दोबस्तीसहित फौज बिहीबार पुगेको हो ।

मन्त्रिपरिषद् बैठकले महाकाली करिडोर निर्माणका लागि सेनालाई जिम्मा दिने निर्णय १४ वैशाखमा गरेको थियो । बिहीबार घाँटीबगरको थी भन्ने स्थानमा सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि थप फौज, उपकरण र सामग्री शुक्रबार तैनाथ गर्ने पनि सेनाले जनाएको छ ।

 

बाटो बनेपछि दार्चुलाको व्यास गाउँपालिका– १ स्थित छाङरु र टिंकर गाउँका करिब एक सय ८२ घरपरिवारलाई सदरमुकाम खलंगा आवतजावतका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने छैन । खलंगा पुग्न व्यास गाउँपालिका– २ मा रहेको मौरीभिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो भएका कारण आवतजावतमा अहिले समस्या भएको छ ।

 

स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका छन्। घाँटीबगर र मौरीभिरको चार सय ५० मिटर सडकखण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version