काठमाडौं: कमाइको अधिकांश हिस्सा खर्च गरेर सिध्याउने नेपालीहरुको बचत यो वर्ष अझ खुम्चिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको चालु वर्षको आर्थिक सर्वेक्षणको तथ्यांकले यस्तो देखाएको हो।

सर्वेक्षणअनुसार आम्दानीमध्येबाट नेपालीले गर्ने बचतको दर पोहोरभन्दा अहिले दुई प्रतिशतभन्दा बढीले घटेको छ। गत वर्ष सय रुपैयाँ आम्दानी गर्दा त्यसबाट २० रुपैयाँभन्दा बढी बचत रहेकोमा यस वर्ष यो १८ रुपैयाँमा ओर्लिएको छ।

अर्थमन्त्री खतिवडाले गत फागुनसम्मको आर्थिक गतिविधिका आधारमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार, कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८१.९ प्रतिशत उपभोगमै खर्च हुने देखिएको हो। बचत १८.१ प्रतिशत मात्र हुने सर्वेक्षणमा उल्लेख छ ।

गत वर्ष उपभोग र बचतको दर क्रमशः जीडीपीको ७९.५ प्रतिशत र २०.५ प्रतिशत थियो । बचत झन् खुम्चिँदै गएको अवस्थामा नेपालीहरुको औसत प्रतिव्यक्ति आयमा भने पोहोरभन्दा ५१ अमेरिकी डलरले सुधार आउने अनुमान आर्थिक सर्वेक्षणको छ । सर्वेक्षण अनुसार, गत वर्षभन्दा प्रतिव्यक्ति आम्दानी यो वर्ष साढे ७ प्रतिशतले बढेर १०८५ अमेरिकी डलरबराबर पुग्ने अनुमान गरिएको छ । गत आवमा नेपालीको वार्षिक औसत आय ३० डलरले बढेर १०३४ डलर पुगेको थियो ।

चालु वर्षको फागुनसम्मको तथ्यांकका आधारमा अर्थमन्त्री खतिवडाले चालु वर्ष निरपेक्ष गरिबीमुनिको जनसंख्या दुई प्रतिशतभन्दा धेरैले घट्ने उल्लेख गरेका छन् । अघिल्लो वर्ष १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबको जनसंख्या चालु आर्थिक वर्षमा १६.६७ प्रतिशत रहने अनुमान रहेको उनले बताए ।

यस्तै, उपभोक्ता मूल्य सूचकांका आधारमा वस्तु तथा सेवामा पनि पोहोरभन्दा यसपालि महँगी बढेको सर्वेक्षणले देखाएको छ। अघिल्लो आवको फागुनसम्ममा मुद्रा स्फिती ४.५ प्रतिशत रहेकोमा चालु वर्षको यही अवधिमा यो ६.५ प्रतिशत पुगेको छ। पछिल्ला तीन आवमा भने मुद्रास्फिती उत्पादकको मूल्यमा औसत ७ प्रतिशतभन्दा माथि रहेको खतिवडाले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version