काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रकाशमान सिंहले कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो । सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई बजेटले कार्यान्वयन नगरेको, अनुत्पादक खर्च घटाउनेतर्फ ध्यान नदिएको र ठूला तथा राष्ट्रिय गौरवका आयोजना पूरा गर्नेतर्फ ठोस व्यवस्था नभएको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति हेर्ने जिम्मा प्रधानमन्त्रीले नै लिए पनि परियोजनाको हालत दुरुहपूर्ण रहेको तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो खण्ड नै पूरा नभएको अवस्थामा दोस्रो खण्ड शुरु गर्ने विषय आफैँमा मिल्दो नभएको बताउनुभयो । उहाँले युवा तथा खेलकूद, अन्तरदेशीय प्रसारण लाइन तथा लप्सेफेदी–रातमाटे ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा सत्तारुढ दलभित्रै सहमति नभएको अवस्थामा कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।

राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आवका लागि ल्याएको बजेट आम जनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको आरोप लगाउनुभयो ।

कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा उहाँले रोष प्रकट गर्नुभयो । उहाँले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version