काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन फ्लाइओभर निर्माणबिना गर्न नसकिने बताएका छन्।
प्रतिनिधि सभा सदस्य प्रेम सुवालले काठमाडौं उपत्यका धुलो, धुवाँ, खानेपानी अभाव, फोहोरमैला अव्यवस्था, अपराधको केन्द्र हुने भएकाले देशको सन्तुलित विकास गर्न यहाँ बनाइने फ्लाइओभरको बजेट प्रदेश राजधानीमा व्यवस्थित सडक बनाउन खर्च गर्न आवश्यक भएको मन्त्रीलाई सुझाव दिएका थिए।
त्यसको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौंमा एउटा/दुइटा मात्र नभइ धेरै फ्लाइओभर बनाउन आवश्यक भएको बताए।
‘संसारभरिका राजधानी अत्यन्त व्यवस्थित हुन्छन्। काठमाडौं सांस्कृतिक रूपले धनि छ, तर धुवाँ, धुलो बढ्दो छ। सडक मर्मत सम्भार र जाम नियन्त्रण गर्न आवश्यक छ। बढ्दो सवारी चापलाई व्यवस्थित गर्न एउटा-दुइटा होइन, धेरै फ्लाइओभर आवश्यक छ,’ उनले भने, ‘काठमाडौंको जाम न्यूनीकरणको एउटै उपाय हो फ्लाइओभर।’
सरकारले आगामी वर्षका लागि चक्रपथको कोटेश्वर-कलंकी खण्डमा तीनवटा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ। यो खण्डमा फ्लाइओभर निर्माणका लागि सडक विभागले फिजिबिलिटी अध्ययन गरिरहेको छ। अध्ययन प्रतिवेदन यतिबेलासम्म तयार हुनुपर्ने भए पनि लकडाउनका कारण फाइनल हुन सकेको छैन।
