काठमाडौँ: समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ।

 

समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन्।

 

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्।

 

‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं’, अरगरियाले सेतोपाटीसँग भने, ‘नभए पार्टीका तर्फबाट कारबाही गर्ने उल्लेख गरेको छु।’

 

गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन्।

 

उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन्। त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए।

 

भारत बिहारको हाजिपुर–सोनपुरमा जन्म भएकी गिरीलाई लक्षित गर्दै नेकपाकी सांसद गंगा चौधरीले केही दिनअघि ‘भारतीय चेली’को संसदमा दादागिरी देखिएको टिप्पणी गरेकी थिइन्। जसलाई हटाउन उनले संसदमा सभामुखसमक्ष माग गरेकी थिइन्।

 

सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची-३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो।

 

उक्त संशोधनको माथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन्।

 

गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भू-भाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version