काठमाडौँ: सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो गरी शुक्रबार मुलुकको पूर्वी भागमा प्रवेश गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनमै पूर्वी भागबाट पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।
कस्तो होला मनसुन ?
नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुनमा सरदर वर्षा (नर्मल) हुने विज्ञहरुले आँकलन गरेका छन् । दक्षिण एसियाली मुलुकहरुको आगामी मनसुन प्रक्षेपण गर्न एक महिना अघि एको भर्चुअल छलफलमार्फत् विज्ञहरुले विश्वभर प्रयोगमा ल्याइएका मौसम विज्ञानसम्वन्धि मोडलहरुको विश्लेषण गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् ।
विश्व मौसम संगठन (डब्लूएमओ) को दिल्लीस्थित क्षेत्रीय जलवायु सेन्टरले संयोजन गरेको साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१६) मा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाबाट मौसम विज्ञान हेर्ने विशेषज्ञ सहभागी थिए । उक्त छलफलमा नेपालबाट जल तथा मौसम विज्ञान विभागकी बरिष्ठ मौसमविद् तथा जलवायु शाखाकी प्रमुख इन्दिरा कँडेलले भाग लिएकी थिइन् ।
हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि नै सम्मेलन आयोजना गरेर दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सास्कोफ १६ बंगलादेशको ढाकामा हुने तय भएकामा कोरोना संक्रमणका कारण यसै साता भर्चुअल छलफल भएको हो । छलफलमा जलवायु विज्ञानका जापान, कोरिया, बेलायतलगायत अन्तर्राष्टिय विज्ञहरुसमेत थिए ।
तीन दिन चलेको छलफलमा मौसम विज्ञान आँकलनमा विश्वमा प्रयोगमा ल्याइएका मोडलको माध्यामबाट सम्भावित मनसुन प्रक्षेपण गरिएको हो । त्यस्ता मोडलहरु सबै देशका आ-आफ्नै छन् । सबैका मोडलहरुको विश्लेषण गर्दै विशेषज्ञहरुले एउटै प्लेटफर्मबाट विश्वसनीय मनसुन प्रक्षेपण गर्दै आएका छन् । मनसुन प्रक्षेपणका लागि जापान, बेलायतलगायतका विकसित मुलुकहरुले प्रयोग गर्दै आएका मोडलकोसमेत प्रयोग गरिएको छ ।
छलफलमा सहभागी वरिष्ठ मौसमविद् कँडेलले नेपालमा सरदर वर्षा आँकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भेगमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको बताइन् । तराई क्षेत्रमा पनि अलि कम वर्षा हुने आँकलन गरिएको छ ।
नेपालको आगामी मनसुनबारे विभागले आउँदो साता बुलेटिन निकाल्ने तयारी गरिरहेको छ । विभागले अहिले छलफलबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिरहेको छ । सामान्यतया जेठ २७, २८ (जुन १०) देखि नेपालमा मनसुन सुरु हुन्छ । नेपालमा असोज पहिलो सातासम्म (सेप्टेम्बर २३) मनसुनी गतिविधि जारी हुन्छ ।
