काठमाडौं: जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे ।

 

संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे । उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे ।

अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितलाई समेटेर जारी भएको नक्सालाई संविधानमा समेट्न संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै उनले भने, ‘५८ वर्ष अघि यो भूमि नेपालमै थियो, हाम्रै नक्सामा थियो, यो भूमि कसले बेच्यो ?’ उनले देश बेचुवा को हो भन्ने पहिचान गर्नुपर्ने माग पनि गरे । उनले सरकारलाई यसबारे श्वेतपत्र ल्याउन पनि माग गरे । देश बेचुवालाई टुंडिखेलमा झुण्डाउन पनि उनले माग गरे ।

‘महाकाली सन्धिको बेलामा महाकालीको मुहान पत्ता किन लगाइएन ?’ उनले प्रश्न गरे, ‘यो राष्ट्रघाती को हो ? यसको पर्दाफास गर्नुपर्छ ।’ महाकाली सन्धिको बेलामै महाकाली नदीको मुहान कहाँ हो भनेर टुंगो लगाएको भए आज यो अवस्था नआउने उनको भनाइ थियो ।

राष्ट्रियतालाई साँघुरो अर्थमा नबुझ्न पनि उनले आग्रह गरे । राष्ट्रियता एउटा जात, समुदाय, क्षेत्रको हुनै सक्दैन,’ उनले भने, ‘त्यस्तो भयो भने त्यो पंगु राष्ट्रियता हुन्छ, त्यसले राष्ट्रिय एकता, राष्ट्रियता बलियो हुँदैन ।’ राष्ट्रियता, राष्ट्रिय एकताको परिभाषा ठिकसँग गर्नुपर्ने उनको भनाइ थियो । नक्सा बनाउनेमात्र होइन, गुमेको भूभाग फिर्ता ल्याउन पनि आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरिरहेको उनले बताए ।

नक्साका लागि मात्र नभई राजनीतिक मुद्दामा पनि संविधान संशोधनका लागि ध्यान दिन सरकारलाई आग्रह गरे । ‘संविधान संशोधनका लागि मानिसले ज्यान गुमाएको छ, संघर्ष गरेको छ,’ उनले भने, ‘जब संशोधनको कुरा आउँछ, हामीले त्यो कुरा पनि ल्याउने गरेका छौं । संगै ल्याइदिनुस्, प्याकेजमा ल्याइदिनुस्, भूमि र जनता मिलाएपछि राष्ट्रियता बलियो हुन्छ भनेका छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version