काठमाडौं: निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले मंगलबारदेखि विभिन्न देशमा रहेका नेपालीलाई नेपाल ल्याउनका लागि उद्धार उडान सुरु गर्ने भएको छ।
जुन १७ तारिखदेखि लगातार चार दिन (जुन २०) सम्म गर्ने उद्धार उडानमार्फत हिमालयले आठवटा देशबाट नेपालीलाई ल्याउनेछ । यसमा श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, कम्बोडिया, मलेसिया, साउदी अरेबिया र युएई रहेका छन् ।
कम्पनीले रुप्सी ट्राभलसँगको समन्वयमा पहिलो उडान श्रीलंका र माल्दिभ्समा गर्ने जनाएको छ। यी दुवै देशका लागि हवाई भाडा तीन सय ८० अमेरिकी डलर निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ।
यसबाहेक हिमालयले हार्वेस्ट मुन ट्राभल एण्ड टुर्ससँगको समन्वयमा १७ जुनमा बंगलादेशको ढाका, सिंगापुर र कम्बोडियामा पनि उद्धार उडान गर्ने तय भएको बताएको छ। कम्पनीका अनुसार, ढाका उडानका लागि कम्पनीले एक सय ६५ डलर तथा सिंगापुर र कम्बोडियाका लागि पाँच सय २० डलर भाडा निर्धारण भएको छ।
यसैगरी, जुन १८ मा हिमालयले मलेसियाको क्वालालाम्पुर र साउदी अरेबियाको दमाम उडान गर्ने तालिका बनाएको छ। हिमालयले यी दुई गन्तव्यमध्ये मलेसियाका लागि तीन सय ७२ डलर र साउदीको चार सय ६५ डलर भाडा तय गरेको छ।
जुन १९ मा पनि साउदीको दमाम र माल्दिभ्स उडान हुने बताइएको छ। रुप्सी ट्राभलसँगको सहकार्यमा हुन लागेको मालदिभ्सको उद्धार उडानका लागि चार सय ८० डलर हवाई भाडा निर्धारण गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, कम्पनीले जुन २० मा हुने उद्धार उडान युएईको आबुधाबी र बंगलादेशबाट उद्धार उडान गर्ने योजना बनाएको छ। हिमालयका अनुसार आबुधाबी-काठमाडौं उडान फिस्टेल ट्राभलसँगको सहकार्यमा गर्न लागिएको छ भने बंगलादेश-काठमाडौं उडान हार्वेस्ट मुन ट्राभलसँगको सहकार्यमा हुन लागेको हो । यी दुई गन्तव्यका लागि क्रमशः तीन सय ८५ डलर र एक सय ६५ डलर भाडादर निर्धारण गरिएको छ।
