काठमाडौं: गृहमन्त्री राम बहादुर थापाले भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे छानबिन गर्ने बताएका हुन् ।
सोमबार राजधानीको काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा लिएरपछि इन्काउन्टर गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले छानबिनको तयारी गरेको हो ।
समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिनको प्रतिवद्धता जनाएका हुन् ।
सांसद देवेन्द्रराज कंडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सिर्जना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे ।
