काठमाडौ: नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाएका छन् ।

म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् ।

सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो । सर्वोच्चको फैसलासँगै सागरसहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन् ।

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो। २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेषमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको थियो।

महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो ।अदालतले सफाइ दिए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version