काठमाडौँ: चार प्रतिशतले घटेर २० मिनेट कारोबार स्थगित भएपछि सेयर बजार फर्किएको छ। ५० अंकसम्म घटेको बजारमा दोस्रो घण्टापछि ब्रेक लागेको हो।

बीचमा उच्च करेक्सन भएर बजार ०.४५ अंकसम्म मात्र तल आएको थियो। अन्तत: १२.८७ अंक घटेर बजार बन्द भएको हो। सुचक ११८८ अंकमा रोकिएको छ।

सोमबार बजारमा ३४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १३० कम्पनीको ४८६२ पटक कारोबार भएको छ।

सूचक घट्छ भन्ने पिरले नियामकले लामो समयदेखि सेयर बजारलाई बन्धक बनाएका थिए। लकडाउन अवधिभर जम्मा दुई दिन बजार खुलेको थियो। त्यतिबेला बजार घटेपछि अत्तालिएर नियामक धितोपत्र बोर्डले कारोबार बन्द गर्ने निर्णय गरेको थियो।

मालपोतदेखि चियापसलसम्म खुलेपछि बोर्डलाई बजार खोल्नुपर्ने दबाब थियो। तैपनि उसले अनेक बहाना बनाएर बजार बन्द गरेको थियो। अन्तत दबाब थेग्न नसकेपछि बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई बजार खोल्न भनेको थियो।

बजार खुलेको सुरुको एक घण्टा सूचक उच्च दरले झरेको थियो। ४८ अंक अर्थात ४ प्रतिशतले घटेपछि २० मिनेट सर्किट ब्रेकर लगाउनु परेको थियो। त्यसपछि खुलेको बजार ५० अंकसम्म घटेको थियो।

लगानीकर्ता सम्हालिन थालेपछि बजारको घट्ने अन्तर झर्दै गएको थियो। ५०० अंकभन्दा बढिले घटेको जीवन बीमा सूचक २३७ अंक बढेर बन्द भएको छ। उत्पादनमूलक सूचक १०३ अंक बढेको छ भने अन्य २० अंकले बढेको छ। ब्यापार समूह पनि ३९ अंकले बढेर बन्द भएको छ।

बैंकिङ २५ अंकले घटेको छ। होटल साढे २६, विकास बैंक ६३, जलविद्युत १३ अंकले घटेको छ। निर्जीवन बीमा कम्पनी पनि १०१ अंकले घटेको छ।

बजार उच्च दरले घटिरहँदा पनि नेपाल इन्भेष्टमेन्ट, हिमाल दोलखा हाइड्रो, गुलविल फाइनान्स र नागरिक लगानी कोषको सेयर मूल्य बढेको थियो।

लामो बन्दपछि खुलेको बजारमा लगानी कोषको १० प्रतिशतले सेयर मूल्य बढेको छ। कोषको हकप्रद र बोनस सेयरका कारण मूल्य बढेको हो।

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको मुद्दा जितेर पैसा भित्र्याइसकेकाले मूल्य बढेको हो। बैंकको संस्थापक र साधारण दुबै सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। हिमालयन डिस्टिलरीको पनि करिव १० प्रतिशतले सेयर मूल्य बढेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version