काठमाडौं: सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै व्यापार व्यवसाय पनि सञ्चालन हुने क्रम बढेको छ । काठमाडौंको पर्यटकीय केन्द्रका रुपमा परिचित चन्द्रागिरि केवलकार पनि सञ्चालनको तयारी गरिएको छ । चन्द्रागिरि हिल्सका सञ्चालक हेमराज ढकालले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण प्रोटोकल लागु गरेर सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा बसेको बताए ।

 

“कोरोना संक्रमणको त्राससँगै चैत्र ११ गतदेखि पूर्ण बन्द रहेको केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयारी अवस्थामा छौं,” उनले भने, “५० प्रतिशत क्षमतामा मात्रै भए पनि होटेल, केवलकारलगायत सञ्चालन गर्न सरकारले दिने अपेक्षामा छौं ।”

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप केवलकार सञ्चालनको तयारी गरिएको उनले बताए । ढकालले निश्चित क्षमतामा मात्रै भए पनि व्यवसाय सञ्चालन गर्न दिए संकटको अवस्थामा पुगेको अर्थतन्त्रलाई छिटो पुनरूत्थान गर्न सकिने पनि बताए ।

केवलकार र होटेल प्रयोगकर्तालाई विशेष प्याकेज

आईएमई ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका ढकालले केबलकार र होटल प्रयोगकर्तालाई विशेष छुटसहितको योजना ल्याउने पनि बताए । “लामो समयदेखिको लकडाउनका कारण मानिसहरु चन्द्रागिरि जस्ता पर्यटकीय क्षेत्रमा आउन खोजिरहेका छन्,” उनले भने, “केवलकार र होटेल अब खोल्दा विशेष प्याकेज पनि सँगै ल्याउनेछौं ।”

५० प्रतिशत क्षमतामा सञ्चालनको तयारी

चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले तत्कालका लागि ५० प्रतिशत मात्रै क्षमतामा भए पनि केवलकार सञ्चालनको तयारी गरिएको बताए । “भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षालाई विशेष ध्यानमा राखेर ५० प्रतिशत क्षमतामा सञ्चालनको तयारी गरिएको हो” उनले भने ।

उनका अनुसार एउटा केवलकारको डिब्बा (गोन्डोला) मा ८ जना बस्न मिल्ने भए पनि ४ जनालाई चढाइनेछ । यस्तै न्यूनतम एक मिटरको दूरी कायम राखेर टिकट काउन्टर सञ्चालन गर्ने, टिकट काउन्टरमा स्यानिटाइजर, मास्कको व्यवस्था गरिएको उनले बताए । होटलका गेस्ट भएमा लगेजको स्यानिटाइज गरिने पनि उनले बताए ।

भालेश्वर मन्दिर दर्शनका क्रममा पनि भौतिक दूरी कायम गराउँदै दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version