काठमाडौं: आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।
यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।
दुई अध्यक्षले पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटीका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ।
