काठमाडौं: आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बिहीबार बिहान दिएको जानकारीअनुसार दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो।
‘पानी त पहिलादेखि नै परिरहेकै छ, तर अबका दुई–तीन दिन मनसुन सक्रिय हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा वर्षा अझ बढ्ने र कतिपय स्थानमा दुई–तीनसम्मै नउघ्रिएर झरी परिरहने सम्भावनासमेत छ।’
तर कतिपय सञ्चारमाध्यमले भनेजस्तो यो वर्षकै बढी वर्षा हुने भन्ने कुराचाहिँ सत्य नभएको पनि उनले बताए। ‘वर्षा अलि बढ्छ भन्न खोजिएको हो,’ उनले भने, ‘तर यो वर्षकै बढी वर्षा हुन्छ भनेर अहिल्यै नाप्न सकिने कुरा होइन।’
उनका अनुसार न्यून चापीय रेखा जति नेपालतर्फ नजिकिँदै जान्छ, त्यति नै यहाँ वर्षाको मात्रा बढ्दै जान्छ। यसआधारमा आजदेखि नेपालमा यसअघि भइरहेको वर्षाभन्दा अलि लामो समय र ठूलो वर्षा हुने अनुमान छ।
‘प्रदेश १ देखि ५ सम्म रातभर पानी परेको छ,’ उनले भने, ‘अहिले पनि प्रदेश १ देखि कर्णाली प्रदेशसम्म वर्षा भइरहेको छ।’
मौसमविद् पौडेलका अनुसार आजबाट झन् वर्षा बढ्ने सम्भावना छ। ‘न्यून चापीय रेखा अझ नेपालतर्फ नजिकिँदै छ,’ उनले भने, ‘भोलि र पर्सि अझ बढी वर्षा हुने सम्भावना छ।’
उनका अनुसार न्यून चापीय रेखा खासगरी भारतसँग सीमा जोडिएका नेपालका क्षेत्रमा नजिकिएकाले आगामी तीन दिन विशेषगरी तराईमा व्यापक वर्षा हुने सम्भावना छ।
‘तर पहाडमा पनि पानी त पर्छ, यसअघिकै वर्षाले देशका धेरै स्थानमा जमिन गलिसकेकाले थोरै वर्षा हुँदासमेत पहिरो जाने, बाढी आउने तथा पानी/ढलको राम्रो निकास नभएका स्थानमा डुबान हुनेजस्ता विपद् आउने सम्भावना छ,’ उनले भने, ‘त्यसैले सबैले विशेष सतर्कता अपनाउन जरुरी छ।’
मौसमविद्का अनुसार देशभर मनसुनसी वायुको प्रभाव पहिलेदेखि नै छ भने केही दिनदेखि भारतको उत्तर प्रदेशमा बनेको निम्न चापीय क्षेत्रको प्रभाव पनि परिरहेको छ। त्यसमाथि आजबाट न्यून चापीय रेखासमेत नेपालतर्फ नजिकिँदै गरेकाले अबका तीन दिनजति वर्षाको मात्रा अझ बढ्ने भएको हो।
