काठमाडौँ: लामो समयको प्रयासपछि नेपाल र बंगलादेशबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्र नेपालको तर्फबाट उर्जा,जलस्रोत एंवम् सिंचाईमन्त्री वर्षमान पुनले र बंगलादेशको तर्फबाट बङगलादेशी उर्जा राज्यमन्त्री नसरुल हमिदले आज उर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौं आएका हुन् ।
चीन र भारतले लगानीमा होडबाजी गरिहरेका बेला बंगलादेश पनि नेपालको जलविद्युतमा लगानी गर्न आउन तयार भएको हो ।
नेपाल र बंलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन ।
हालसम्म बंगलादेशबाट नेपालमा जलविद्युत् क्षेत्रमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी नआएको अबस्थामा दुई देशबीचको यो कदमले उर्जा क्षेत्रमा लगानी तथा ब्यापारको ढोका खोलेको मन्त्री पुनले बताए ।
बंगालदेशको टोलीसंग उर्जाको बिषयमा समेत आज छलफल भएको भन्दै बंगालदेशले तत्काल नेपालबाट ५०० मेगावाट विधुत आयात गर्ने इच्छा राखेको पुनले बताए ।
बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदले दुई देशले धेरै अघिदेखी कुरीरहेको दिन आज समाप्त भएको भन्दै यो कदमले दुई देशको आर्थिक विकासमा ठुलो योगदान पुग्ने बताए ।
बंगलादेश सरकारले नेपालको उर्जा क्षेत्रमा सरकार/सरकारबीचमा वा निजी क्षेत्रको माध्यममा लगानी गर्न चाहेको बताउदै उक्त समझदारी पत्रमा हस्ताक्षर गरेसंगै लगानीको तथा उर्जाको व्यापारको बाटो शुरुभएको हमिदले बताए ।
समझदारीपछि दुईदेशका ऊर्जा सचिव स्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तीय ज्वाइन्ट वर्किङ ग्रुप लगायतका संयन्त्रहरु बनाइनेछ । जसमार्फत आफ्ना ऊर्जासम्बन्धी हित र सरोकारका विषय दुईदेशबीच छलफल हुनेछ ।
