काठमाडौं: आज (मंगलबार) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्।
यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो/अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्।
न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले केही दिनयता देशभर वर्षा व्यापक भएको थियो। याे रेखा जति नजिक भयाे, उति वर्षाकाे मात्रा बढ्ने माैसमविद् बताउँछन्। तर अहिले नेपालबाट याे रेखा केही तल सरे पनि याे तल माथि गरिरहने भएकाले पुन: माथि अर्थात् नेपाल नजिक आउने सम्भावना पनि रहने मौसमविद् बताउँछन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने बागमती, गण्डकी, ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
यस्तै दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा जारी रहने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
यसअघिको वर्षाको पानीले जमिन भिजिसकेको हुनाले सामान्य वर्षाले पनि पहिरो जाने तथा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ।
