काठमाण्डौं: नेपाल सिमेन्ट उत्पादक संघले आज (साउन १ गते) देखि नगदमा मात्रै सिमेन्ट बिक्री गर्ने निर्णय गरेका छन्।

नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगीहरूको सिमेन्ट बिक्रीको पुरानो बक्यौता उठाउन बाँकी रकम नै करिब खर्ब पुग्न लागेपछि बिक्री कारोबार नगदमा गर्नुपर्ने सहमति गर्दै उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका हुन् ।

संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच उधारो, मूल्य, बोनस र कमिसनमा नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि यस्तो निर्णय गरिएको बताए।

संघको बैठकले निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिई मात्र दिनुपर्ने छ। र यस्तो उधारोको लिमिट (बैंक ग्लारेन्टी-विजी) र एलसी भित्र रही अधिकतम उधारो समय ६० दिनसम्मको मात्र हुनुपर्ने निर्णयमा उल्लेख छ।

यसैगरि अफर अन्तर्गत सुनचाँदी, हिरामोती, विदेश टूर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि राख्न नपाइने निर्णय संघले गरेको छ।

यस्तै कुनै उद्योगले बोनस, तथा मासिक, वार्षिक स्कीम दिँदा प्रतिबोरामा २० रुपैयाँ ननाघ्ने गरी दिनुपर्ने र भुक्तानी गर्दा अनिवार्य रुपले कर कट्टी गर्नुपर्नेछ ।

यस्तै उनीहरुले साउन १ गतेभन्दा पहिलाको बाँकी रकम उठाउन ‘उधारो असुली संयन्त्र’ निर्माण गर्ने निर्णय गरेका छन्। जसलाई विशेष अधिकार समेत प्रदान गर्नेगरि कम्तिका एक जना सीए, एक जना कानुनी अधिकृत र एक जना प्रशासकीय अधिकृत रहने जनाइएको छ। सो संयन्त्रलाई अनुगमन गर्न उद्योगीहरूका तर्फबाट एक अनुगमन समिति बनाउने निर्णय गरिएको छ।

यसरी उद्योगीहरुले साउन १ गतेभन्दा अगाडिको उधारो उठाउन नसकेको अवस्थामा त्यस्ता ग्राहक डिलरको नाम लिष्ट ‘उधारो असुली संयन्त्र’ मा जानकारी गराउनुपर्नेछ। उधारो असुलीका लागि सबै उद्योगहरूले एकअर्कालाई सहयोग गर्नुपर्ने र त्यसरी पनि रकम नतिर्ने ग्राहक/डिलरलाई अन्य कुनै पनि सिमेन्ट उद्योगले कारोबार गर्न नपाउने गरि कालो सूचीमा राख्न सक्ने समेत निर्णय गरिएको छ।

यी शर्तहरु पालना नगर्ने उद्यमीहरूले जरिवाना स्वरुप निर्णय उल्लंघन भएको पहिलो महिना भन्दा अघिल्लो महिनामा बिक्री गरेका सिमेन्टको प्रत्येक बोराबाट पचास पैसाका दरले बुझाउनु पर्नेछ।

नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगमा चार खर्ब लगानी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version