काठमाडौं: नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०७७७८ को मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई सम्बोधन नगरेको बताएको छ।

 

नाडाले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पूर्नविचार गर्न आग्रह गरेको छ।

 

‘नेपाल राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ। त्यसैगरी, हालसम्म पनि कायम रहेको र हायर पर्चेज लोन को सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मोद्रिक नीतिले निरन्तरता दिएको देखिन्छ,’ विज्ञप्तीमा उल्लेख छ।

 

प्रत्येक वर्ष सवारी तथा ढुवानीका साधनहरुको आयात सरदर २० प्रतिशतले बढदै जाने क्रम रहेकोमा अहिले झण्डै त्यही अनुपातमा कूल आयात ओरालो लाग्दै गएको नाडाले बताएको छ।

 

राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमा मार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याईएको सोही नीतिलाई नै निरन्तरता दिनु आफैंमा विरोधाभाषपूर्ण भएको नडाको आरोप छ।

 

उल्लेखित निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धि गरेर ९० प्रतिशत पुर्याउनु पर्ने नाडाले माग गरेको छ।

 

यसले साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाको विश्वास छ।

 

मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई सौताको छोराको व्यवहार गरेको नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए।

 

‘यो मौद्रिक नीतिले सबै क्षेत्रलाई सम्बोधन गर्यो तर हाम्रो भने डाउन पेमेन्ट १० प्रतिशत बनाउने एउटा मात्र सुझावको पनि सम्बोधन भएन,’ दुलालले भने।

 

यो नीतिले धेरै लगानी तथा रोजगारी जोखिममा परेको नाडाका पूर्व अध्यक्ष अन्जन श्रेष्ठले बताए।

 

‘अटोमोवाइल क्षेत्रमा यति धेरै लगानी छ। हजारौंले रोजगारी पाएका छन्। यसलाई पुरै अनुत्पादक क्षेत्रको ट्याग लगाउनु दुखको कुरा हो,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version