काठमाडौं: पार्टीको आन्तरिक विवाद समाधान गर्न स्थायी कमिटी बैैठक रोकेर बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पनि ठोस सहमति जुट्न सकेन । यद्यपी छलफल विगतमा भन्दा केही सकारात्मक भएको नेताहरुको भनाइ छ ।
विवाद मिलाउन भन्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा सचिवालय बैठक बसेको हो । ‘आजको बैठकमा दुवै अध्यक्ष केही लचक भएको देखियो । पार्टीभित्र उठेका विभिन्न विषयमा छलफल पनि भए । तर निर्णय गर्न अझै समय लाग्ने भएकाले दुई अध्यक्षलाई सहमतिको खाका तयार गर्न सुझाव दिएका छौ’, एक सचिवालय सदस्यले रातोपाटीलाई भने, ‘दुईवटा अध्यक्षले खाका पेश गर्ने । सबै विषय प्याकेजमै सहमति गर्ने त्यसमा एकता महाधिवेशन पनि चाडो गर्न सकिनेमा दुवै अध्यक्ष सकारात्मक देखिनुभएको छ ।’
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले ओलीको अर्ली महाधिवेशनको प्रस्ताव सकरात्मक भए पनि लिखित प्रस्ताव नआएसम्म विश्वास मान्न नसकिने बताएका थिए । विगतमा भएका निर्णय पनि कार्यान्वयन नभएकाले लिखित रुपमा प्रस्ताव ल्याउनुपर्ने प्रचण्डको भनाइ थियो ।
बैठकपछि पार्टीभित्र उठेका सबै विषयमा छलफल भएपनि कुनै सहमति नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आज पार्टीको सचिवालयको बैठकमा राष्टको पार्टीको आन्तरिक संकटलाई कसरी सहमति र सम्बोधन गर्ने भन्ने क्रममा छलफलहरु भए । त्यसक्रमा पार्टी एकतालाइ रक्षा र सुदृढ गर्ने र आजको नेपाली समाजको आवश्यकता सम्बोधन गर्न तथा जनादेश अनुसार नै संकट निवारण गर्न अझै छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।
