डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो ।

 

ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत मान्छे डोजर प्रयोग गरेर निजी तथा सार्वजनिक निर्माण शुरु गर्नु कानूनविपरीत मानिन्छ ।” घटनाका विषयमा अनुसन्धान भइरहेकाले बताउँदै कसुर देखिएमा कानूनअनुसार कारवाही हुने पौडेलको भनाइ थियो ।

पक्राउ गरिएका सबैलाई नगर उपप्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवश्यक परेका खण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ । निर्माण गर्न लागिएको खेलकूद मैदान गत वर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेर काम शुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताउनुभयो ।

भेरीले कटान गरेको ठाउँभरि आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एकपटक फिल्डमै पुगेर यकीन गर्न भनिएको उहाँको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सर्वप्रथम निकुञ्ज क्षेत्रमा पर्छ वा पर्दैन निकुञ्जले यकीन गर्नुपर्ने बताउनुभयो ।

“निकुञ्ज क्षेत्रमा पर्ने भएर पनि अनुमति नलिएर काम गरेको पाइयो भने कारवाही हुनुपर्छ, तर निकुञ्ज क्षेत्रमा नपरेको ठाउँमा अनाआवश्यक हस्तक्षेत्र गर्न हुँदैन । सबैले सहजीकरण गरेर विकास निर्माणकार्य अघि बडाउनु पर्छ”, सुनारले भन्नुभयो । निकुञ्ज क्षेत्रमा पर्ने भूगोलका विषयमा आम जनतालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । उक्त खेलकूद मैदान सङ्घीय सरकार र त्रिपुरासुन्दरी नगरपालिकाको जनश्रमदानसहितको रु ८५ लाख संयुक्त बजेटमा निर्माण हुन लागेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version