काठमाडौँ :विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिए ।
सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो । अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे । बैंकले नेपालमा हाल करीब रु दुई अर्ब ७० करोड डलर अर्थात रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ ।
सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।
“हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छाँै । त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ”,अर्थमन्त्री डा खतिवडाले भने ।
नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ । यस्तै केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ । यस्तै संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
अर्थमन्त्री डा खतिवडाले यही साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । उहाँले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराएका थिए ।
उनले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै ‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध’ रहेको उल्लेख गरेका थिए ।
