वीरगञ्ज: वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् ।

मास ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

साउन १२ गते देखि १६ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।

 

भोलि सोमबारदेखि निषेधाज्ञा

संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पर्सामा भोलि सोमबारदेखि लागू हुने गरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ ।

साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो । शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर नै अनिश्चितकालीन  निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

कोभिड-१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version