काठमाडौँ: आज (मंगलबार) रातिदेखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज राति मनसुनको न्यून चापीय नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने अनुमान गरिएको हो ।

‘आज रातिदेखि भोलिसम्म मनसुन सक्रिय हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।

उनका अनुसार न्यून चापीय रेखा जति नजिक भयो उति वर्षा बढ्छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसमविद् बासीले अहिले (मंगलबार बिहान ७ बजे) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका केही स्थानमा हल्काफुल्का पानी परिरहेको हुन सक्ने बताइन्।

उनका अनुसार गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। एक-दुई ठाउँमा भारी वर्षा पनि भएकाे छ।

‘काठमाडौं उपत्यकामा पनि राति ११–१२ बजेदेखि बिहान साढे २ बजेसम्म मध्यम खालको वर्षा भएको छ,’ मौसमविद् बासीले भनिन्, ‘उपत्यकामा ८ मिलिमिटर वर्षा भएको छ।’

उनका अनुसार दिउँसो केहीबेर काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम खुल्ने सम्भावना छ। तर अपराह्नपछि पुनः बदली भई हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version