काठमाडौं:नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढङ्गले निधन भएको भन्दै निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टको हस्ताक्षमा बुधबार जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघका पूर्वसचिव बानियाँको दुःखद् निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’

महासंघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र स्वर्गीय बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारका पक्षमा पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।’

तनहुँ स्थायी घर भएका पत्रकार बानियाँ साढे दुई दशकदेखि पत्रकारितामा थिए । उनी हाल कान्तिपुर दैनिकमा कार्यरत थिए । उनले नागरिक दैनिकमा पनि काम गरेका थिए ।

बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version