काठमाडौँ: औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएको छ।

विभागले सो औषधिको क्लिनिकल ट्रायलका लागि इच्छुक अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई आवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको हो।

कोरोना संक्रमणबाट गम्भीर अवस्था पुगेका बिरामीको ज्यान बचाउन यो औषधि प्रयोग गरिन्छ। यसले गम्भीर अवस्थामा रहेका बिरामीका स्वास्थ्यमा छिटो सुधार ल्याउने सहयोग गर्ने चिकित्सकहरुले बताएका छन्। तर यो कोभिड १९ लाई निको बनाउने औषधि भने होइन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले विभागले औषधि चलाउने विभागहरुको नाम उपलब्ध गराउने बित्तिकै यसको क्लिनिकल परीक्षण सुरु गर्न सकिने बताए।

‘अनुसन्धानका लागि आवश्यक कार्यविधिसहितका विषयहरुलाई परिषदले पूर्ण तयारी गरेको छ,’ ज्ञवालीले भने, ‘विभागले कम्पनीका नाम उपलब्ध गराउनेबित्तिकै यसमा काम सुरु हुन्छ।’

डा. ज्ञवालीले यो औषधिका लागि स्वास्थ्य मन्त्रालयले रकम उपलब्ध गराउने बताए।

‘प्लाज्मा थेरापीका लागि तयारी रहेका अस्पतालहरुमै यो औषधिको पनि अनुसन्धान हुनेछ,’ ज्ञवालीले भने।

परिषदले प्लाज्मा थेरापीका लागि तीन निजी र नौ सरकारी अस्पताललाई अनुमति दिएको थियो।

अमेरिकाले वैशाख २० तथा दक्षिण कोरिया र भारतले जेठ २१ गते कोरोना संक्रमणका गम्भीर बिरामीमा रेमडिसिविर प्रयोग गर्न अनुमित दिएको थियो। रेमडिसिविर हालसम्म उपलब्ध औषधिमध्ये सबैभन्दा प्रभावकारी एन्टिभाइरल औषधि मानिन्छ। यो इबोलाको उपचार गर्न बनाइएको औषधि हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version