काठमाडौं : पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत लगायत उनका परिवारले स्वाब परीक्षण गर्न अस्विकार गरेका छन ।
दाहसंस्कार गरिसकेपछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का आफ्ना ८४ वर्षीय पितामा कोरोना पुष्टि भएपछि पूर्वमन्त्रीको पनि स्वाब संकलन गर्न जाँदा स्वाब दिन अस्विकार गरेको जनाइएको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा हिजो बुधबार स्वाब संकलनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मी टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन नमानेका हुन्।
बस्नेतको परिवारले पीसीआर परीक्षण गर्न अस्वीकार गरिरहेको छ,’ मेयर शेर्पाले भने, ‘यसले सिंगो बाह्रबिसे नगरका बासिन्दालाई जोखिममा पार्ने देखिएको छ, हामी चिन्तित छौं।’
नगर प्रमुख शेर्पाका अनुसार स्वास्थ्यकर्मीको टोली उनको स्वाब लिन ५ घण्टा पर्खिंदा पनि उनले मानेनन्। ‘अब यसबारे म आज विज्ञप्ति निकाल्दै छु,’ मेयर शेर्पाले भने।
एकदमै नजिकको परिवारले स्वाब दिन नमानेपछि अन्य नातेदार र छिमेकी गरेर २१ जनाको स्वाब संकलन गरी पठाइएको उनले जानकारी दिए। उनी आफैं पनि मलामी गएका थिए। ‘मेरो स्वाब पनि पठाएको छु,’ उनले भने, ‘तर एकदमै नजिकको परिवारले स्वाब दिन मानेको छैन, हामी अचम्मित छौं।’
यता पूर्वमन्त्री बस्नेतले भने हिन्दू संस्कारअनुसार किरिया बसेका बेला कसैलाई छुन नहुने भएकाले स्वाब नदिएको दाबी गरेका छन्।
अहिले आफूहरू घरमा चार भाइ बुबाको क्रियामा बसेको उनले जानकारी दिए। ‘अन्य छुन मिल्ने आफन्तको हामीले स्वाब संकलन गराएका छौं,’ उनले भने, ‘क्रियामा बसेका र छुन नमिल्ने सदस्यको अहिले दिँदैनौं।’
