सिन्धुपाल्चोक: छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ।

शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो।

यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।

होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ।

लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version