काठमाडौं : उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला प्रशासनले भोली बुधबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
तीनै जिल्ला प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
‘अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न, अत्यावश्यक सामग्री लगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ,’ सो निषेधाज्ञामा भनिएको छ

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न समेत बन्देज लगाइएको छ।
यो अवधिमा होटल, रेष्टुराँ सञ्चालन गर्न पाइने छैन।
बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने भनिएको छ।
अत्यावश्यक कार्यका लागि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दुरी कायम गर्न अनिवार्य गरिएको छ।
हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिने बताइएको छ।
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानुन बमोजिम कारबाही हुने सो सूचनामा बताइएको छ।
यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही जनाइएको छ।