काठमाडौँ: विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने तयारी थालिएको छ। विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् ।

कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गर्ने तयारीमा उनीहरु पुगेका हुन् ।

उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।

सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाए । ‘साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएर अवस्था सहज हुँदै जाँदा भदौमा परीक्षा लिने भनेका थियौं,’ उनले भने, ‘अवस्था बिग्रियो, परीक्षा स्थगित गर्नुपर्‍यो, अब असोजभित्र अन्य विधिबाट भए पनि परीक्षा लिन्छौं ।’

अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।

त्रिविमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजारमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । विद्यार्थी संख्या धेरै भएका कारण पनि कोभिडका बेला पठनपाठन र परीक्षा सञ्चालनमा असहज भएको उपकुलपति बाँस्कोटाले गुनासो गरे ।

त्रिविले चैतदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो । हालसम्म १ लाख ४५ हजार विद्यार्थी, १६ हजार शिक्षक, कर्मचारीलाई इमेल आइडी वितरण गरिएको जनाएको छ । ४ हजार ५ सय शिक्षकलाई भर्चुअल कक्षासम्बन्धी क्षमता विकास तालिम दिइएको छ ।

काठमाडौं विश्वविद्यालय र खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् । अन्य विश्वविद्यालयले पनि अनलाइनसहित अन्य विधिबाट परीक्षा लिने तयारी गरिरहेको जनाए । दसैंअघि नै परीक्षा सञ्चालन गर्न सके शैक्षिक सत्रमा क्षति नपुग्ने उनीहरूको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version